दफा ४५
ऋणको साँवा र व्याजको वास्तविक रकम निश्चित गर्ने
दफा ४४ बमोजिम फाँटवारी दाखिल भएपछि सो दाखिल गराउने समिति, संस्था वा अधिकारीले सम्बन्धित व्यक्तिहरूलाई उचित म्याद दिई, बुझी, आवश्यक छानवीन र जाँचबुझ गरी कृषि सम्बन्धी ऋणको बाँकी साँवा र व्याजको वास्तविक अङ्क देहायको आधारमा निश्चित गर्नेछ ।
(क) साहूले साँवाको दोवर व्याज असुल गरी सकेको भए ऋण साधन भएको मानिनेछ ।
(ख) नगदी जिन्सीमा दसौंद भन्दा बढी व्याज लिएको भए बढी लिएको व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(ग) व्याजको व्याज लिएको भए त्यस्तो व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(घ) थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउनेगरी भोग बन्धकीमा भोग गरेको भए पाए जति सबै आयस्तालाई नगदीमा परिणत गरी सकयडा १० भन्दा बढी ठहरिन आएको रकम साँवामा कट्टा भएको मानिनेछ ।
(ङ) कसैले आफ्नोे हली, जन वा गोठालालाई दिएको ऋण वापत व्याज दिइने छैन र त्यस्तो व्याज लगाई लिएको भए पनि सो व्याज साँवामा कट्टा भएको मानिनेछ । त्यस्तो हली, जन वा गोठालाले काम गरकोे प्रत्येक वर्षको लागि निजले आफ्नोे गृहस्थ साहूलाई बुझाउन पर्ने कूल ऋणको सयकडा १० का दरले ऋणमा स्वतः मिन्हा हुँदै गएको मानिनेछ ।
तर स्थानीय चलन अनुसार काम गरे वापत पाउने मजदूरी सो रकम भन्दा बढी पाउने रहेछ भने बढी पाउने रकम जति ऋणमा कट्टा गरिनेछ ।
(च) जग्गावालाबाट मोहीले लिएको बीउमा व्याज लिएको भए सो व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(छ) कानुन वा रीतिथिति चलन अनुसार जग्गा फार्छे वा राजीनामा नहुने किपट जग्गाको हकमा यो प्रतिवन्धात्मक वाक्याशं प्रारम्भ हुनु भन्दा अघिको भोगबन्धकीमा खाए पाएको आयस्था खण्ड (घ) बमोजिम भोगबन्धकीमा साँवामा कट्टा गरिनेछैन ।